एनपिएल: जनकपुर बोल्ट्स एक रनले विजयी

लुम्बिनी लायन्सको लगातार चौथो हार

काठमाडाैं | मंसिर २३, २०८१

एनपिएल: जनकपुर बोल्ट्स एक रनले विजयी

काठमाडौं:    पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । 


प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो ।

    
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो । 

    
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए ।  त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो । 

    
जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।
    
    
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए । 
    
    
त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए । 
    
    
लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।
    
    
यससँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।  

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्